PRABHU BANK

प्राइम कमर्सियल बैंक र नेपाल नाई ट्रेड युनियनबीच सम्झौता, हातमा सिप भएका व्यक्तिहरुलाई स्वावलम्बी बनाउने उद्देश्य

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंक र नेपाल नाई ट्रेड युनियनबीच सम्झौता भएको छ । बैंकले कपाल काट्ने पुर्ख्यौली पेशा रहेका नेपालका नाईहरुको व्यवसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई ट्रेड युनियनसँग सम्झौता गरेको हो । प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र नेपाल नाई ट्रेड युनियनको तर्फबाट केन्द्रिय समितिका अध्यक्ष गजेन्द्र ठाकुरले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
हातमा सिप भएका व्यक्तिहरुलाई स्वावलम्बी बनाई उनीहरुको पेशालाई व्यवसायीकरण गर्ने उद्देश्यले उक्त छाता संगठनका सम्पुर्ण बैंकिङ सेवा सुविधा एकै ढोकाबाट उपलब्ध गराउने लक्ष्य बैंकले लिएको छ । साथै बैंकले नाईका सदस्यहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना बीमा लगायतका सुविधाहरु प्रदान गर्नेछ । समझदारी अनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरुको प्राइम बैंकमा संस्थागत, व्यवसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ ।
व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरुलाई बैंकले पहिलो वर्ष निशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेविट कार्ड, परिवारका २ जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ । सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले २ वर्ष भित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाख बराबरको दुर्घटना वीमा र २५ हजार बराबरको अस्पताल भर्ना वीमा उपलब्ध गराउनेछ । साथै डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्युआर कोडको व्यवस्था गर्नेछ र यस मार्फत कारोबार गरे बापत पहिलो ३ महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरुप बैंकले प्रति कारोवार ५ थप गरिदिनेछ ।
यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रति ऋणी ५० हजारदेखि २ लाखसम्म सरल प्रक्रियाबाट सामुहिक लगानी गर्नेछ । साथै आवश्यक्ताको आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ । ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्नेछ ।यस सम्झौताको दीर्घकालीन लक्ष्य अन्तर्गत चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम चौमासिकभित्र व्यक्तिगत, व्यवसायिक तथा युनियनको संस्थागत गरी कम्तीमा २००० सदस्यको खाता खोल्ने, देशभरका ५००० सदस्यहरुमा बैंकिङ तथा वीमा साक्षरता पुर्याउने र कम्तीमा ३०० जना व्यवसायीलाई कोरोना प्रभावित व्यवसाय पुनःउत्थान सहुलियत कर्जा प्रवाह गर्ने बैंकको लक्ष्य रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै