PRABHU BANK

एनआईसी एशिया बैंक व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय सूचांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल

NIC Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । यस बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरणमा बैंकिङ क्षेत्रको अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको छ भने बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहपूर्ण रहेका छन् । यस बैंकले अवलम्बन गरेको कुशल रणनीति तथा प्रदर्शन गरेको व्यवस्थापकीय कार्य कौशलताको फलस्वरुप कोभिड-१९ को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि आर्थिक वर्ष २०७७/७८ मा व्यवसायतर्फ हासिल गरेको वित्तीय नतिजा नेपालको समग्र बैंकिङ क्षेत्रकै ऐतिहासिक र हालसम्मको सर्वाधिक उच्च हो ।
आर्थिक वर्ष २०७७/७८ मा यस बैंकले कर्जातर्फ करिब ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम २६५ अर्ब पुर्याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ । यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २९८ अर्ब पुर्याउन बैंक सफल भएको छ ।
जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.१४ गुणा रहेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ८.११ पुर्याएको छ । त्यसैगरी बैंकको स्व-पुँजीमा प्रतिफल १७.१४ प्रतिशत रहेको छ जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा समेत यस बैंकको RoE वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढीे थियो ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले Enterprise Level Risk Management Approach अवलम्बन गर्दै साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगिकार गरेको फलस्वरुप कोभिड-१९ को विषम परिस्थिति तथा चुनौतिका बावजुद कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई आर्थिक वर्ष २०७७/७८ को चौथो त्रयमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैंक सफल भएको छ । साथै, गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको छ ।
बैंकले अवलम्बन गरेको अब्बल जोखिम व्यवस्थापन रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.७ प्रतिशत मात्रै रहेको छ र सो समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्टमा पर्दछ । साथै, बैंकको कर्जा जोखिम अत्यन्त न्यून रहेको छ । यस बैंकको कुल कर्जामा ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको छ । बैंकले निक्षेपतर्फ पनि स-साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ४६६,४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यस बैंकको ग्राहक संख्या निजी क्षेत्रका वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक उच्च रहेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष उमेर समूह देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमासमा कर्जा, निक्षेप, स्व-पुँजीमा प्रतिफल, शाखा कार्यालय, र एटिएममा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ । साथै सोही अवधिमा खुद ब्याज आम्दानीतर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने चल्ती तथा बचत निक्षेपमा तेस्रो स्थानमा रहेको छ र खुद नाफा एवं प्रति शेयर आम्दानीमा चौथो स्थान ओगट्न सफल भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै