काठमाडौं । तिहार तथा धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेपछि खरिद गर्ने सर्वसाधारणको भीड लागेको छ।
काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा सुन तथा चाँदीका सिक्का खरिद गर्न बिहानैदेखि सर्वसाधारणको लामो लाइन लागेको हो। तिहारमा सुनचाँदी खरिद गर्नुलाई शुभ र समृद्धिको प्रतीक मान्ने धार्मिक तथा सांस्कृतिक विश्वासका कारण सिक्का खरिद गर्नेको आकर्षण बढेको देखिन्छ।
राष्ट्र बैंकले २.५ ग्रामको सुनको असर्फी र १० ग्रामका लक्ष्मी तथा गणेश अंकित चाँदीका सिक्का बिक्री गरिरहेको छ। खरिदकर्ताले प्रतिव्यक्ति एक थान सुनको असर्फी र तोकिएको सीमाभित्र चाँदीका सिक्का खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
सिक्का खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य आधिकारिक परिचयपत्रसहित स्वयं उपस्थित हुनुपर्ने व्यवस्था छ। भुक्तानीका लागि नगद तथा क्यूआर दुवै सुविधा उपलब्ध गराइएको छ।




