काठमाडौं । भारतको ग्रेटर नोएडास्थित पञ्जाब नेशनल बैंक (पीएनबी) को एक शाखामा करिब ३५ करोड भारतीय रुपैयाँ हिनामिना भएको आशंका गरिएको छ। बैंकमा पैसा जम्मा गरेका ग्राहकले आफ्नो बचत तथा मुद्दती खातामा रकम नभेटेपछि घटना बाहिर आएको हो।
बचत खातामा ३ देखि ४ लाख रुपैयाँसम्म भएका ग्राहकको खातामा अहिले १६ हजार रुपैयाँ मात्रै बाँकी छ। सरकारी क्षतिपूर्तिबापत १ करोड रुपैयाँ र २९ हजार रुपैयाँ पाएका व्यक्तिको खाताबाट समेत रकम हराएको बताइएको छ। यस्तै समस्या भोगेका करिब १८ जना ग्राहकले प्रहरीमा उजुरी दिएका छन्। घटनाबारे बेटा-२ प्रहरी चौकीमा जाहेरी दर्ता भएको छ।
घटना सार्वजनिक भएपछि बैंकको क्षेत्रीय कार्यालयले शाखा प्रबन्धकसहित पाँच जना कर्मचारीलाई निलम्बन गरेको छ। उनीहरूको ठाउँमा नयाँ कर्मचारी खटाइएको छ। बैंकका अधिकारीले ग्राहकको रकम बिहीबारसम्म खातामा फिर्ता गरिने आश्वासन दिएका छन्। तर, रकम कसरी हरायो भन्ने विषय अझै स्पष्ट भएको छैन। बैंकबाट पैसा चोरी भएको हो, कर्मचारीको गल्तीले हराएको हो वा डिजिटल माध्यमबाट रकम निकालिएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ।
बैंकका कर्मचारीको लापरबाही र अनियमितताबारे पनि छानबिन भइरहेको छ। यस घटनामा भ्रष्टाचार नियन्त्रण टोलीले समेत अनुसन्धान गरिरहेको बताइएको छ। बैंकले भने अहिलेसम्म यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
कसरी बाहिरियो घटना ?
ऐच्छर गाउँमा बस्ने तथा यातायात व्यवसाय गर्दै आएका विनीत भाटी मंगलबार सेक्टर पीआई-१ स्थित पीएनबी शाखामा पुगेका थिए। उनी जय शिव ट्रान्सपोर्ट नामक कम्पनी सञ्चालन गर्छन् र सोही बैंकमा उनको चालु खाता छ।
भाटी बैंकमा म्युचुअल फन्डमा लगानी गर्न पुगेका थिए। शाखा प्रबन्धकको निर्देशनमा उनले चेक र आवश्यक कागजातमा हस्ताक्षर गरेका थिए।
तर, लगानीका लागि रकम आफ्नो बचत खातामा पठाउनुको सट्टा अर्को खातामा पठाइएको बताइएको छ। उक्त खाता भाटीकै नाममा रहेको भनिए पनि वास्तवमा त्यो उनको खाता नभएको स्रोतको दाबी छ।
यसपछि भाटीले आफ्नो २५ लाख रुपैयाँ फिर्ता गर्न र घटनाको अनुसन्धान गर्न माग गर्दै बेटा-२ प्रहरी चौकीमा उजुरी दिएका थिए। त्यसपछि अन्य ग्राहकले पनि आफ्नो खाताबाट रकम हराएको भन्दै गुनासो गर्न थालेका थिए।


