काठमाडौँ । सनराइज बैंकका सहायक प्रबन्धकको रूपमा कार्यरत नरेन्द्र देव अधिकारीले सनराइज बैंकविरुद्ध उत्प्रेषण मुद्दाको रिट दायर गरेका छन्। अधिकारीले सनराइज बैंकको केन्द्रीय कार्यालय, गैरीधारा काठमाडौँ, बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, मानव संसाधन विभाग प्रमुख कञ्चन जोशी तथा सञ्चालक समितिविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा परेको हो।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएपनि सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो।
अधिकारीले सनराइज बैंकविरुद्ध २०७८ साल चैत ४ गते रिट दायर गरेका थिए। उक्त मुद्दामा कहिले कारण देखाउ आदेश जारी भएको थियो भने कहिले पूर्ण सुनुवाइको निम्ति पेस गर्ने भन्ने आदेश जारी भएको थियो।
यसअघि पनि २०७९ जेठ १६ गते, २०७९ भदौ १ गते, २०८१ जेठ १ गते, २०८२ वैशाख १५ गते र २०८३ भदौ २५ गते पनि सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो। अब उक्त रिट निवेदनको अर्को पेसी कार्तिक १२ गतेका लागि तोकिएको छ।
यता तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत हाल प्रभु बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत सिइओ सुमन शर्माविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ। उनीविरुद्ध प्रहरीले कर्जा स्वीकृति, धितो व्यवस्थापन र कर्जा प्रवाहको निर्णयलाई लिएर फौजदारी मुद्दा दायर भएको हो।
उनीसहित चार जनाविरुद्ध प्रहरीले पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोग पत्र दायर गरेको हो। पक्राउ पूर्जी जारी भएपछि प्रभु बैंकका सिइओ सुमन शर्मा फरार भएको बुझिएको छ। बैंकका सुमन शर्मासहित चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका हुन् ।


