नेशनल लाईफ इन्स्योरेन्सको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौँ। नेशनल लाईफ इन्स्योरेन्सको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको हो ।

कम्पनीका अध्यक्ष श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रमको समुद्घाटन अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । समुद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै अध्यक्षले बदलिँदो परिवेशमा कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल कनेक्टिभिटी सम्बन्धी तालिमलाई प्राथमिकता दिने र कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले यथाशक्य लगानी गर्ने बताए । कर्मचारीको दक्षता र क्षमता अभिवृद्धिले कम्पनीको व्यवसाय प्रबर्धनमा समेत सकारात्मक योगदान पुर्याउने उनको भनाइ थियो ।

सो अवसरमा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवाड २०८३’ छनौट हुने कर्मचारी शिवेश ठाकुर (इटहरी), गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) लाई अध्यक्षले नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बेस्ट इम्प्लोई अवार्ड प्राप्त गर्ने कर्मचारीहरुलाई अध्यक्षले बधाई दिँदै अन्य कर्मचारीलाई पनि आगामी दिनमा उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीहरूलाई स्वागत गरेका थिए । स्वागत मन्तव्यको क्रममा उनले ग्राहक नै व्यवसायको मुख्य स्रोत भएको उल्लेख गर्दै ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्ने, संस्थाका नीति, नियमको पालना तथा कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने र ‘समस्या जहाँ भए पनि त्यो संस्थाकै समस्या हो’ भन्ने भावनाका साथ समाधान खोज्ने जिम्मेवार प्रयासले कम्पनीप्रति ग्राहकको विश्वास अझ बलियो बनाउने उनको भनाइ थियो ।

सो अवसरमा कर्मचारीलाई विभिन्न विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने बताए। चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्