काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई बैंकको सेयरमूल्य समायोजन भएको छ । नबिल बैंक र गरिमा विकास बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले बोनस सेयरअनुसार सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले नबिल बैंकको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नबिल बैंकको सेयरमूल्य प्रतिकित्ता ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ ।
त्यस्तै, गरिमा विकास बैंकको समायोजित सेयरमूल्य ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार बनाएर दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो ।
मंगलबार दोस्रो बजारमा नबिल बैंकको सेयर ५६६ रुपैयाँ र गरिमा विकास बैंकको सेयर ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजित मूल्यलाई आधार मानेर बुधबारदेखि दोस्रो बजारमा दुवै बैंकको सेयर कारोबार खुल्नेछ ।


