काठमाडौँ। नेपाल राष्ट्र बैंकका कर्मचारीले एआई प्रयोग गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आफ्ना कर्मचारीहरुलाई एआई प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।
एआईबाट सहयोग लिने नाममा गोप्य कागजातसमेत एआईमा अपलोड हुन थालेपछि राष्ट्र बैंकले एआई प्रयोग रोकेको हो । एआईबाट काममा सहयोग लिने क्रममा बैंकका संवेदनशील तथा गोप्य कागजातसमेत बाह्य एआई प्रणालीमा अपलोड हुन थालेपछि राष्ट्र बैंकले यस्तो कदम चालेको हो।
राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई एआई प्रयोग गर्दा संस्थासँग सम्बन्धित संवेदनशील सूचना, कागजात तथा विवरण बाह्य प्रणालीमा पुग्न सक्ने जोखिम रहेको भन्दै सावधानी अपनाउन निर्देशन दिएको जनाएको छ।
विशेषगरी कार्यालयीय कामलाई सहज बनाउने उद्देश्यले प्रयोग गरिने विभिन्न एआई उपकरणमा कागजात अपलोड गर्ने, सूचना राख्ने वा सामग्री विश्लेषणका लागि पठाउने गतिविधिले गोपनीयता र सूचना सुरक्षामा जोखिम निम्त्याउन सक्ने देखिएपछि प्रयोगमा रोक लगाइएको हो।
पछिल्लो समय एआईमा आधारित उपकरणहरू कार्यालयीय काममा तीव्र रूपमा प्रयोग हुन थालेका छन्। लेखन, अनुवाद, तथ्य विश्लेषण, प्रतिवेदन तयार पार्ने, सारांश बनाउने तथा विभिन्न दस्तावेजको समीक्षा गर्न कर्मचारीहरूले एआईको सहयोग लिन थालेका छन्।
तर, यस्ता उपकरणमा संस्थाका आन्तरिक तथा संवेदनशील विवरण प्रविष्ट गर्दा ती सूचना सम्बन्धित संस्थाको नियन्त्रणबाहिर पुग्न सक्ने सम्भावना रहन्छ।



