फ्लिमी शैलीमा लुटपाट: स्टेट बैंक अफ इन्डियामा खुर्सानीको धुलो छर्केर ४ लाख लुटपाट, ३० मिनेटमै आरोपी पक्राउ !

काठमाडौँ। नागपुरको स्टेट बैंक अफ इन्डियामा खुर्सानीको धुलो छर्केर ४ लाख रुपैयाँ लुटपाट भएको पाइएको छ। भारतको महाराष्ट्रस्थित नागपुरको सक्करदरा क्षेत्रमा रहेको स्टेट बैंक अफ इन्डिया (एसबीआई) को शाखामा दिउँसै करिब ४ लाख रुपैयाँ लुटिएको घटनामा एक आरोपी पक्राउ समेत परेका हुन्।

प्रहरीले घटनाको करिब ३० मिनेटभित्रै आरोपीलाई पक्राउ गरी लुटिएको रकमसमेत बरामद गरेको जनाएको छ।

प्रारम्भिक विवरणअनुसार आरोपी बैंकभित्र प्रवेश गरी कर्मचारीमाथि खुर्सानीको धुलो छर्किएका थिए। खुर्सानीको धुलोका कारण कर्मचारीहरू केही समय असहज भएपछि आरोपीले नगद काउन्टरबाट करिब ४ लाख रुपैयाँ लिएर फरार भएको बताइएको छ।

घटनापछि नागपुर प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो। बैंक तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजको अध्ययनका आधारमा प्रहरीले आरोपीलाई पहिचान गरी पक्राउ गर्न सफल भएको जनाएको छ।

प्रहरीका अनुसार आरोपीबाट चोरी भएको सम्पूर्ण रकम बरामद गरिएको छ। पक्राउ परेका आरोपीलाई न्यायिक मजिस्ट्रेटसमक्ष पेस गर्ने प्रक्रिया अघि बढाइएको छ।

एक प्रहरी अधिकारीका अनुसार घटना गम्भीर भएकाले आरोपीको पहिचान, लुटपाट गर्नुको उद्देश्य तथा घटनामा अन्य व्यक्तिको संलग्नता थियो कि थिएन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

प्रहरीले आरोपीले एक्लै अपराध गरेको हो वा उनका अन्य सहयोगीसमेत थिए भन्नेबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्