काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा हदैसम्मको लफडा भएको छ । कम्पनीले विभेदकारी नीति लिएर आसेपासेलाई अवार्ड दिएको, राम्रो काम गर्नेलाई उल्टै निरुत्साहन गरेको लगायतका आरोप लगाउँदै बीमा अभिकर्ताहरुले नाराबाजी गरेपछि भेला स्थाल रणमैदानझैँ भएको थियो ।
भेलामा अभिकर्ताहरुले तत्काल सीइओलाई पक्राउ गर्न मागसमेत गरेका थिए । नाराबाजीमा उत्रिएका अभिकर्ताहरुलाई कम्पनीले प्रहरी लगाएर नियन्त्रणमा लिन खोजेपछि अभिकर्ताहरुले अभिकर्तालाई नभई सिइओ प्रवीण रमण पराजुलीलाई पक्राउ गर्नुपर्ने आवाज उठाएका थिए । उनीहरुले सिइओ मुर्दाबाद भन्दैसमेत नाराबाजी गरेका थिए ।
यसैबीच नेपाल लाइफ इन्स्योरेन्सका आधा दर्जन अभिकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कम्पनीको अभिकर्ता भेलामा लफडा परेपछि नाराबाजीमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लफडा बढेपछि कम्पनीले नै प्रहरी बोलाएको थियो । कार्यक्रम सकिएपछि प्रहरीले उनीहरुलाई छाडेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको कार्यक्रममा विवाद हुँदा झण्डै हानाहानको स्थितिसमेत भएको थियो ।


