गरिमा र कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको डण्डा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै गरिमा विकास बैंक लिमिटेड लाई सचेत गराएको छ भने कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड को सञ्चालक समितिलाई लिखित आदेश जारी गरेको छ।

बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदनअनुसार दुवै विकास बैंकले फरक–फरक प्रकृतिका नियामकीय कमजोरी गरेको पाइएको हो।

राष्ट्र बैंकका अनुसार गरिमा विकास बैंक ले स्थलगत निरीक्षणका क्रममा कालोसूचीमा रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा प्रवाह गरेको भेटिएको छ। यस्तो कार्य नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था विपरीत भएको ठहर गर्दै बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (१) को खण्ड (क) बमोजिम सचेत गराइएको हो।

यस्तै, कर्णाली डेभलपमेन्ट बैंक ले नियामकसमक्ष पेश गर्नुपर्ने न्यूनतम चुक्ता पुँजीसम्बन्धी विवरण समयमै उपलब्ध गराउन नसकेको तथा नियामकीय निर्देशनको पालना नगरेको प्रतिवेदनमा उल्लेख छ।

यसैका आधारमा राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको सञ्चालक समितिलाई समस्या समाधान गरी नियामकीय व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न लिखित आदेश जारी गरेको जनाएको छ।

राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई प्रचलित कानुन, निर्देशन र सुशासनसम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशनसमेत दिएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्