नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक माथि राष्ट्र बैंकको कारबाही, सञ्चालक समितिलाई नसिहत र लिखित आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै सालपा विकास बैंक लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेड माथि कारबाही गरेको छ। वित्तीय संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदन अनुसार दुवै बैंकका सञ्चालक समितिमाथि फरक–फरक प्रकारको कारबाही गरिएको हो।

प्रतिवेदनअनुसार सालपा विकास बैंक ले ‘ख’ वर्गका वित्तीय संस्थाले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पुँजी कायम नगरेको तथा राष्ट्र बैंकबाट पटक–पटक निर्देशन दिँदा पनि त्यसको प्रभावकारी कार्यान्वयन नगरेको पाइएको छ। साथै, नियामकीय व्यवस्था विपरीत बैंक सञ्चालन जारी राखेको निष्कर्ष राष्ट्र बैंकले निकालेको छ।

यही आधारमा नेपाल राष्ट्र बैंकले बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम नसिहत दिएको जनाएको छ।

यस्तै, नारायणी डेभलपमेन्ट बैंक ले समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा तोकिएका सर्तहरू पालना नगरेको राष्ट्र बैंकले जनाएको छ। प्रतिवेदनअनुसार बैंकले तोकिएको अवधिभित्र चुक्ता पुँजी वृद्धि गर्न नसकेको, सम्बन्धित पक्षबाट निक्षेप संकलनसम्बन्धी सीमा तथा एउटै ग्राहकलाई कर्जा प्रवाहसम्बन्धी नियामकीय व्यवस्था पालना नगरेको पाइएको हो।

राष्ट्र बैंकले बैंकले समस्याग्रस्त संस्थाको पुनर्संरचनासम्बन्धी निर्देशन तथा अन्य नियामकीय व्यवस्थासमेत उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै सञ्चालक समितिलाई लिखित आदेश जारी गरेको छ।

नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई नियामकीय निर्देशन तथा वित्तीय अनुशासनसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न र संस्थागत सुधारका कार्य प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको छ।

lumbini and salapa bank

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै