काठमाडौँ। सिन्धु विकास बैंकको वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। मेलम्ची शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत थाङपालभ्याली माविमा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक एवं खेलकुद सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यालयका १०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्व, डिजिटल बैंकिङ, वित्तीय अनुशासन तथा बैंकिङ सेवासम्बन्धी जानकारी प्रदान गरिएको थियो।
साथै, विद्यालयलाई आवश्यक शैक्षिक सामग्री तथा खेलकुद सामग्री समेत हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत गणेश कुमार केसी, सहायक प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपाने, मार्केटिङ विभागका भुवन निरौला तथा मेलम्ची शाखा प्रमुख सीताराम दुलालको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा विद्यालयका प्रधानाध्यापक राजु तामाङले विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने यस्ता अर्थपूर्ण कार्यक्रम सञ्चालन गरेकोमा सिन्धु विकास बैंकप्रति हार्दिक धन्यवाद व्यक्त गरे। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै शैक्षिक वातावरणलाई थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।


