‘डिजिटल बैंकिङ प्रयोग गर्दा सावधानी अपनाउनुहोस्’

काठमाडौँ।  नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपाल तीव्र गतिमा डिजिटल प्रणालीतर्फ अघि बढिरहेको बताएका छन्। उनले डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको बताएका हुन्।

यो धारणा उनले नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विकको अवसरमा आयोजना गरेको एक कार्यक्रममा व्यक्त गरेका हुन्। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। त्यस अवसरमा अध्यक्ष कोइरालाले डिजिटल वित्तीय प्रणालीका फाइदासँगै त्यससँग सम्बन्धित सम्भावित जोखिमबारे पनि सचेत गराए।

उनले विशेषगरी डिजिटल बैंकिङ्ग प्रयोग गर्दा अत्यन्त सतर्क हुनुपर्ने बताउँदै ओटीपी (वन-टाइम पासवर्ड) जस्ता गोप्य जानकारी कसैलाई पनि नदिन आग्रह गरे। उनका अनुसार धेरैजसो साइबर ठगीका घटनाहरू प्रयोगकर्ताको असावधानीका कारण हुने गरेका छन्। ‘ओटीपी कसैलाई पनि शेयर गर्नु हुँदैन र शंकास्पद वा झुट्टा इमेलहरूलाई तुरुन्तै बहिष्कार गर्नुपर्छ,’ उनले भने।

अध्यक्ष कोइरालाले डिजिटल ठगीका कारण एक मिनेटभित्रै बैंक खाताबाट लाखौँ रुपैयाँ गायब भएका घटनाहरू पनि भइरहेको उदाहरण प्रस्तुत गरे। यस्ता घटनाहरूले डिजिटल प्रणाली प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने आवश्यकतालाई झनै स्पष्ट बनाउने उनले बताए। उनले बैंक खाताबाट पैसा गइसकेपछि त्यसलाई फिर्ता ल्याउने प्रक्रिया निकै जटिल र झन्झटिलो हुने भएकाले सुरुवातमै सचेत हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लक्षित गर्दै उनले डिजिटल बैंकिङ्गको सुरक्षित प्रयोगबारे जानकारी दिएका थिए। भविष्यका प्रयोगकर्ताका रूपमा विद्यार्थीहरूले अहिलेबाटै वित्तीय साक्षरता हासिल गर्नु आवश्यक रहेको उनको भनाइ थियो। उनले डिजिटल माध्यमबाट हुने कारोबार बढ्दै जाँदा साइबर सुरक्षा सम्बन्धी ज्ञान पनि त्यत्तिकै आवश्यक हुने बताए। कोइरालाले पछिल्ला वर्षहरूमा बैंकिङ्ग प्रणालीमा आएको प्रविधिगत परिवर्तनबारे पनि चर्चा गरे।

उनका अनुसार अहिले मोबाइल बैंकिङ्गमार्फत नै विभिन्न वित्तीय सेवाहरू उपलब्ध भइरहेका छन्। ग्राहकहरूले मोबाइल बैंकिङ्ग प्रयोग गरेर पैसा पठाउने, बिल भुक्तानी गर्ने, बचत व्यवस्थापन गर्ने जस्ता सेवाहरू सजिलै लिन सक्ने अवस्था बनेको छ। उनले अहिले मोबाइल बैंकिङबाटै कर्जा लिन सकिने सुविधा समेत उपलब्ध हुन थालेको जानकारी दिएका छन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै