बालेन शाहले जिते, अबको प्रधानमन्त्री बालेन !

काठमाडौँ। झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले जितेका छन् । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै वरिष्ठ नेता बालेन्द्र साहले जित हासिल गरेका हुन्।

पछिल्ला केही वर्षमा नेपालको राजनीतिमा तीव्र परिवर्तन देखिएको छ । यही परिवर्तनको केन्द्रमा छन् काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), जो र्ययाप संगीतको मञ्चबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्दै अहिले प्रधानमन्त्री बन्ने सम्भावित नेताका रूपमा चर्चाको केन्द्रमा छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा ऐतिहासिक जित हासिल गरेका थिए ।
लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । उनकी मुख्य प्रतिस्पर्धी कांग्रसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी थिइन् भने एमालेबाट उम्मेद्वार बनेका केसब स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।

इन्जिनियरिङ पृष्ठभूमिका बालेन सन् २०१३ मा नेपालकै चर्चित ¥याप ब्याटल लिग र बर्ज मार्फत सार्वजनिक रूपमा परिचित भएका थिए । तर उनको राजनीतिक यात्रा भने योजनाबद्ध रूपमा अघि बढेको बताइन्छ । मेयर पदमा उम्मेद्वारी दिनुभन्दा करिब साढे दुई वर्षअघि देखि उनले तयारी थालेका थिए । उनले काठमाडौंको हिमालयन ह्वाइटहाउस कलेजबाट इन्जिनियरिङ अध्ययन गरेका छन् भने भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । यही प्राविधिक पृष्ठभूमिले राजनीतिप्रति निराश बनेका धेरै मतदातालाई आकर्षित गरेको विश्लेषकहरूको भनाइ छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि बनेको राजनीतिक परिस्थितिमा जेनजी आन्दोलनका कार्यकर्ताहरूले अन्तरिम सरकारको नेतृत्वका लागि बालेन शाहलाई पहिलो रोजाइका रूपमा अघि सारेका थिए ।
तर बालेनले अन्तरिम प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका थिए । विश्लेषकहरूका अनुसार यो निर्णयले उनलाई छोटो अवधिको सत्ता भन्दा दीर्घकालीन राजनीतिक अवसरतर्फ अघि बढ्न सहयोग गरेको देखिन्छ । यसैबीच २०८२ माघ ४ मा बालेन औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसको भोलिपल्ट उनले जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गरेका थिए ।

यस पटक उनले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय गरेका थिए । यो क्षेत्र लामो समयदेखि ओलीको प्रभाव क्षेत्र मानिन्छ । काठमाडौंबाट करिब ३०० किलोमिटर टाढा रहेको यस क्षेत्रमा बालेनको उम्मेदवारीले राष्ट्रिय राजनीतिमा ठूलो चर्चा र बहस सुरु गराएको छ । बालेन सामाजिक सञ्जालमा अत्यन्त सक्रिय छन् । फेसबुकमा उनका करिब ३५ लाखभन्दा बढी फलोअर्स छन् र उनी प्रायः त्यही माध्यमबाट जनतासँग प्रत्यक्ष संवाद गर्छन् । यद्यपि उनको स्पष्ट र कहिलेकाहीँ आक्रामक अभिव्यक्तिका कारण विवाद पनि हुने गरेको छ । उनले विगतमा अमेरिका, भारत र चीनजस्ता शक्तिशाली देश तथा नेपालका प्रमुख राजनीतिक दलहरूबारे कडा टिप्पणी गरेका थिए ।

सन् १९९० मा जन्मिएका बालेन चार दाजुभाइमध्ये कान्छा हुन् । उनका पिता रामनारायण शाह आयुर्वेद चिकित्सक थिए, जसको निधन बालेनको मुख्यधारको राजनीतिमा प्रवेश हुनुअघि भएको थियो । हाल बालेन काठमाडौं विश्वविद्यालयमा परम्परागत पूर्वाधारसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गरिरहेका छन् । यसरी उनी प्राविधिक ज्ञान, शैक्षिक पृष्ठभूमि र लोकप्रिय राजनीतिक शैलीलाई एकसाथ अघि बढाइरहेका छन् ।

विश्लेषकहरूका अनुसार बालेन शाहको उदयले नेपालको परम्परागत राजनीतिक संरचनालाई चुनौती दिएको छ । उनी परिवर्तनका प्रतीक बन्नेछन् वा विवादास्पद नेतृत्वको रूपमा चिनिनेछन् भन्ने कुरा आगामी राजनीतिक घटनाक्रमले तय गर्नेछ । तर यति निश्चित छ कि नेपालको राजनीतिमा पुरानो पुस्ताको प्रभुत्वमाथि अहिले गम्भीर चुनौती देखिएको समाचार एएनआइले लेखेको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै