काठमाडौँ। आईसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्ने भएको छ। फाइनान्सले फागुन ११ गतेदेखि ५० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर-२०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।
जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये कम्पनीले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ (५ प्रतिशतले हुन आउने १० हजार इकाइ सामूहिक लगानी कोषलाई)मा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा २ लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि हुनेछ।
ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। फाइनान्सको यो ऋणपत्र ७ वर्षे अवधिको हो।
जसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

