काठमाडौँ। कुनै बेला ह्वारह्वार्ती बढिरहेको सुनको भाउ अहिले निरन्तर घटिरहेको छ । विश्वबजारमा अल टाइम हाइमा पुगेर सुन नमिठो डाउनफल भोगिरहेको छ । आखिर बढेको बढ्यै गरिरहेको सुनको भाउ एक्कासी किन घट्न थाल्यो त ? आखिर सुनको भाउको पछिल्लो गिरावटको कारण के हो ?
विश्वबजारमा सुनको भाउ नमिठोसँग घटिरहेको विषयमा जोडिएका एक बैंकरको स्वभावबारे चर्चा गरौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका लागि चुनेका बैंकरको हक्की स्वभावका कारण कसरी सुनको भाउ घटिरहेको छ ।
प्रसिद्ध अन्तराष्ट्रिय सञ्चार माध्यम युरो न्युजका अनुसार सुनको मूल्यमा देखिएको गिरावट अमेरिकाको फेडरल रिजर्भ बैंकको स्वायतत्तासँग जोडिएको छ । ट्रम्पले कुनै बेला सोहि बैंकमा काम गरेका केभिन वार्सलाई बैंकको नेतृत्व दिने तयारी गरेका छन् । ट्रम्पको विश्वास छ, वार्स अमेरिकाको केन्द्रीय बैंकको नेतृत्वमा आएपछि केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिले ह्वाइट हाउसको प्रभाव सिधा बढ्नेछ । यसले अमेरिकी नीतिलाई झन् बलियो बनाउनेछ । सोहि कारण सुन होल्ड गरेर बसिरहेकाहरुले सुन रिलिज गरिरहेका छन्, र अन्तराष्ट्रिय बजारमै सुनको भाउ घटिरहेको छ ।
अहिले अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम पावेल छन् । तर, उनीसँग ट्रम्प सन्तुष्ट छैनन् । युरो न्युजका अनुसार अमेरिकाको फेडरल रिजर्भमा चल्ने शब्द सापटी लिएर भन्दा पावेलको ठाउँमा ट्रम्पका खास मान्छे वार्स ‘हक’ हुन्। अमेरिकी केन्द्रीय बैंकमा, जसले मुद्रास्फीति नियन्त्रण गर्न कडा कदम चाल्ने स्वभावलाई हक्किस स्वभाव भन्ने गरिन्छ । यस्तो स्वभाव भएका व्यक्तिले ब्याजदर बढाउन रुचाउँछ र बजारमा पैसामा आपूर्ति कम गर्न खोज्छ। बजारमा कम तरलता हुँदा डलर बलियो हुने र त्यसले सुन र चाँदी जस्ता वस्तुको मूल्य घट्ने वार्सको रणनीतिबारे विश्वभर यतिबेला चर्चा भईरहेको छ ।
उनी केन्द्रीय बैंकको नेतृत्वमा आए मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर उच्च नै राख्ने र त्यसले सुनमा आकर्षण घट्ने अनुमान विश्व बजारका सुन खेलाडीहरुले गरिरहेका छन् ।
विश्व बजारलाई वार्सको यहि हक्की स्वभावसँग सरोकार छ । वार्स महंगी नियन्त्रण गर्नुपर्ने अडान राख्ने व्यक्ति हुन् भने अमेरिकी केन्द्रीय बैंकबाट राजीनामा दिँदा पनि उनी बजारमा अर्बौं डलर प्रवाह गर्ने नीतिको विरुद्धमा थिए । केन्द्रीय बैंकमा वार्सको नेतृत्वको तयारी र सुन कारोबारीले गरिरहेको प्रफिट बुकिङ्गले एक साथ विश्वभर सुनको भाउ घटाईरहेको छ । हुन त सुनको भाउ घट्नुमा अरु केहि प्राविधिक कारण पनि पक्कै छन् । तर अहिले सुनको भाउलाई लिएर बजारमा सबैभन्दा बढी चर्चा कसैको भईरहेको छ भने त्यो उनै वार्सको हो ।

