काठमाडौँ। बंगलादेशी लेखापरीक्षण फर्म होवलदार युनुस एन्ड कम्पनीले नेपालका ठूला वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो रिभ्यु सकेर सम्बन्धित पूर्ण प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको छ । आईएमएफको सिफारिस र सर्तअनुसार गरिएको यो रिभ्युको काम सकेर कम्पनीले राष्ट्र बैंकलाई रिपोर्ट बुझाएको हो ।
होवलदारको प्रतिवेदनले नेपालका १० ठुला वाणिज्य बैंकमा के के कैफियत भेट्यो त ?
१ . होवलदारको लोन पोर्टफोलियो रिभ्युमा बैंकको अधिकतम खराब ऋण ११ प्रतिशतसम्म भेटिएको छ । सबै १० बैंकको रिभ्यु सकिसकेपछि कम्पनीले औसत ७.७ प्रतिशत खराज ऋण भेटेको छ । सो परिक्षणका क्रममा खराब ऋण अनुपात न्यूनतम ४ प्रतिशत र अधिकतम ११ प्रतिशत देखिएको हो ।
२ . होवलदारले एभरग्रिनिङ डरलाग्दो रुपमा भएको देखाएको छ । बिग्रिएको ऋण तिर्न नयाँ ऋण दिने, एउटा ऋण तिर्न अर्को बैंकले जानीजानी ऋण दिने, आफ्नै ऋण तिरेर ब्याड लोनलाई गुड लोन बनाउन पैसा दिने लगायतका काम अत्याधिक मात्रामा भएको रिपोर्टले देखाएको छ ।
३ . होवलदारको रिपोर्टले बैंकले घुमाउरो पारामा संचालकलाई नै ऋण दिएकोसमेत भेट्टाएको छ । ऋण लिन नै नमिल्ने बैंकका संचालक तथा वास्तविक सेयरधनीलाई घुमाउरो माध्यमबाट ऋण दिएको विषय पनि लोन पोर्टफोलियो रिभ्युका क्रममा प्रष्ट भेटिएको छ ।
४ . होलादारले गरेको १० ठुला बैंकको लोन पोर्टफोलियो रिभ्युका क्रममा धितोको अस्वभाविक रुपमा अधिक मूल्यांकन गरिएकोसमेत पाइएको छ । यतिसम्मकि कतिपय फाइलमा त हुनुपर्ने भन्दा तेब्बर भ्यालुएसन भएकोसमेत पाइएको छ ।
५ . होवलदारको रिपोर्टले बैंकहरुले प्रोभिजनिङ गर्नु पर्ने ऋणलाई प्रोभिजनिङ नगरी त्यसलाई निरन्तर आम्दानी नै देखाएकोसमेत खुलासा गरेको छ । प्रोभिजनिङ गर्नुपर्ने फाइललाई त्यसो नगरेर आम्दानी नै देखाइरहेको जस्ता कैफियतहरु औंल्याएको छ ।
६ . होवलदार युनुसले बुझाएको प्रतिवेदनमा हिमालयन बैंकको पुँजी कोष नै क्षयीकरण भएको तथ्य औंल्याईएको छ। यसैगरी हिमालयनसहित एनआइसी एसिया र प्रभुमा प्राथमिक पुँजी पनि केही कम रहेको रिपोर्टले प्रष्ट औंल्याएको छ । सबैभन्दा बढी एभरग्रिनिङ नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन बैंक लगायतमा देखिएको छ ।
अब गुड न्युज तिर पनि लागौँ
१० ठुला बैंकको लोन पोर्टफोलियो रिभ्युका क्रममा कतिपयले कुनै बैंक नै डुबिसकेको प्रतिवेदन आउँछ कि भन्ने शंकासमेत गरेका थिए । धन्न, त्यस्तो स्थिति नरहेको प्रतिवेदनले प्रष्ट पारेको छ । समग्रमा भन्दा गम्भिर प्रकृतिका र वित्तीय प्रणालीलाई नै असर गर्ने खालको कैफियत नभेटिएको स्वयम् राष्ट्र बैंकले जनाएको छ ।
बंगलादेशको होवलदार युनुसले छानिएका १० बैंकको प्रति बैंक घटीमा ३०० र बढीमा २५०० फाइलहरु हेरेको थियो । सबै भन्दा बढी एनआईसी एशिया बैंकको फाइलहरु हेरिएको थियो ।
होवालादारले बुझाएको प्रतिवेदनबारे नेपाल राष्ट्र बैंकको व्यवस्थापनमा छलफल भईसकेको छ । छलफल पछि उठेका कतिपय विषयहरु सम्बन्धित बैंकलाई सोध्ने काम भएको छ । अव सम्बन्धित बैंकबाट राय आईसकेपछि रायसहित नेपाल राष्ट्र बैंकको संचालक समितिमा लगिनेछ ।
त्यसपछि सो प्रतिवेदन कार्यान्वयनका लागि पठाइनेछ । होवलदार युनुसले नबिल, एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, ग्लोबल आइएमई, एनएमबि र राष्ट्रिय वाणिज्य बैंकको लेखापरीक्षण गरेको थियो ।

