काठमाडौँ। आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड ११औँ वर्षमा प्रवेश गरेको छ। राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो १०औं स्थापना दिवस मनाउँदै ११औँ वर्षमा प्रवेश गरेको हो ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष सरस्वती अधिकारीले सभापतित्व गरेकी थिइन्। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले स्वागत मन्तव्य राख्दै कम्पनीको संक्षिप्त वित्तीय विवरण प्रस्तुत गरेका थिए ।
कम्पनीले पछिल्लो १० वर्षमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ। आर्थिक वर्ष २०७३-७४ मा प्रतिशेयर आम्दानी (ईपीएस) ०.३५ रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१-८२ मा आइपुग्दा २८.८७ रुपैयाँ पुगेको छ।
यस अवधिमा नेटवर्थ १००.७५ रुपैयाँबाट बढेर १३७.८५ रुपैयाँ कायम भएको छ भने कुल आम्दानीतर्फ हेर्दा आर्थिक वर्ष २०७३-७४ देखि २०८१-८२ सम्म आइपुग्दा २,२२१.६५ प्रतिशतको वृद्धि भएको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८१-८२ मा कम्पनीले २० प्रतिशत नगद लाभांशसहित कुल ७३.६६ प्रतिशत नगद लाभांश राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई वितरण गरेको छ।
आरविवि मर्चेन्ट बैंकिङ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा कोष व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत हाल आरविवि म्युचुअल फण्ड-१, आरविवि म्युचुअल फण्ड-२ र आरविवि फोकस-४० गरी तीनवटा सामूहिक लगानी योजनाहरू सञ्चालनमा रहेका छन्। आर्थिक वर्ष २०८१-८२ मा आरविवि म्युचुअल फण्ड-१ ले २० प्रतिशत तथा आरविवि म्युचुअल फण्ड-२ ले १३ प्रतिशत नगद लाभांश इकाईधनीहरूलाई वितरण गरेको छ।

