काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बैंक तथा वित्तीय संस्थामा अध्ययन अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले वित्तीय सेवा प्रदायक संस्थाले अध्ययन-अनुसन्धान नगर्दा देशमा तरलता थुप्रिने, बेरोजगारी बढ्ने र उपभोगमुखी अर्थतन्त्र विस्तार भएको बताए।
अर्थमन्त्री भने, ‘देशमा भित्रिने विप्रेषणको ठूलो भाग उत्पादनशील क्षेत्रमा परिचालन नभएकामा चिन्ता व्यक्त गर्दै अर्थमन्त्री खनालले कुन क्षेत्रमा नयाँ लगानीका अवसर सिर्जना गर्न सकिन्छ, अर्थतन्त्रको आकार विस्तार गर्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ र उत्पादन बढाउन सकिन्छ भन्ने विषयमा बैंक तथा वित्तीय संस्थाहरूले गम्भीर अध्ययन-अनुसन्धान गर्ने परम्परा विकास गर्नुपर्छ।’
‘हाम्रा बैंक तथा वित्तीय संस्थाले आफैँ अध्ययन गरेर कुन क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुन्छ, स्वदेशमै रोजगारी तथा उत्पादन बढ्छ भन्ने निर्णय गर्नेभन्दा पनि व्यवसायीले ल्याएका प्रस्तावका आधारमा मात्र लगानी गर्ने गरेका छन्’, अर्थमन्त्री भने।
साथै, उनले सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकलाई यस्तो अध्ययन तथा अनुसन्धानको नेतृत्व गर्न सुझाव दिएका छन् ।

