नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौँ। नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रले माग गरेको छ। यही माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने माग गरेका हुन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमेत उपस्थित रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले रु पाँच लाखभन्दा माथिको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थामा संशोधन आवश्यक रहेको बताए ।

महासङ्घका अध्यक्ष ढकालले बैंकिङ पहुँच र यसको प्रयोग देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा रु पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या सिर्जना गरेको उल्लेख गरे । यस्तो सीमा तोकिनुका पछाडि नेपाल सम्पत्ति शुद्दीकरणसम्बन्धी विषयमा ‘ग्रे लिस्ट’मा रहेकाले सरकार र केन्द्रीय बैंकमाथि अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब परेको हुन सक्ने उनको भनाइ थियो । अध्यक्ष ढकालले लगानी वातावरण सहज बनाउने तथा निजी क्षेत्र प्रवर्द्धन गर्ने आर्थिक नीतिमा संशोधन गर्नका लागि अहिले सही समय रहेको धारणा व्यक्त गरे । भन्सार राजस्वलाई मात्र प्राथमिकता दिनेभन्दा मुलुकभित्रका उद्योग-व्यवसाय तथा उद्यमशीलता प्रवर्द्धन गर्ने नीतिमा सरकार अघि बढ्नुपर्ने उनको जोड थियो ।

साथै, होटल तथा पर्यटन क्षेत्रले अन्य उद्योगसरह राज्यबाट पाउने सुविधा प्राप्त गर्न नसकेको उल्लेख गरेका छन् । त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासन राष्ट्रिय अर्थतन्त्र र व्यापार सहजीकरणका लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै आर्थिक सुशासन कायम गर्न सक्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै