काठमाडौँ। नागरिक बचाउ महाअभियानका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक देवी संग्रौलामाथि अनुसन्धान भइरहेको छ। सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सिर्जना गरेको आरोपमा ४४ वर्षीय देवी प्रसाद सङ्ग्रौलामाथि अनुसन्धान भइरहेको छ।
उनलाई युट्युब च्यानल लगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गरी बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै सार्वजनिक नैतिकता र शिष्टाचार विपरीतका अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरी अनुसन्धान गरिएको पाइएको छ।
संग्रौलाले सामाजिक सञ्जालमा बैंकका कर्मचारीहरूलाई कुटपिट गर्नुपर्ने, ‘भण्डारखाल जस्तो काण्ड’ मच्चाउनुपर्ने लगायतका उत्तेजक र आपत्तिजनक अभिव्यक्ति दिएको विषयमा सत्यता बुझ्न सम्बन्धित ब्युरोमा उपस्थित गराई प्रारम्भिक सोधपुछ गरिएको थियो।
साथै, उनले कानुनी राज्यमा कानुनको उल्लंघन गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध बोलेको स्वीकार गर्दै उक्त कार्य आफ्नो गल्ती भएको पनि उल्लेख गरेका छन्।

