काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ बाट रमेश सापकोटाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पाटीले फागुन २१ गते हुने निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ मा सापकोटालाई टिकट दिने निर्णय गरेको हो ।
सुर्खेतका रमेश सापकोटाले आफू कुनै राजनीतिक घरानाको विरासतबाट नभई संघर्ष र श्रमको बाटो हुँदै यहाँसम्म आइपुगेको बताएका छन्। सुर्खेतकै माटोमा हुर्किएका उनले जीवन अभाव र चुनौतीबीच सुरु भएको भए पनि समाजमा विद्यमान अन्याय, विसंगति र जनताका पीडासँग लड्दै आएको दाबी गरे।
उनका अनुसार सामान्य मजदुरदेखि व्यवस्थापकसम्मको जिम्मेवारी सम्हाल्ने क्रममा उनले समाजका वास्तविक समस्या नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् । ‘भुइँको धुलो खाएकाले मात्रै माटोको मूल्य बुझ्छ, भन्दै उनले ठूला सिन्डिकेट, बेथिति र आम नागरिकका हक–अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको बताए।
सुर्खेतलाई जन्मभूमि र कर्मभूमि दुवैको रूपमा चित्रण गर्दै उनले यहीँको हावापानीमा हुर्किएको र यहीँका नागरिकको सेवा गर्दै समाजका समस्या बुझ्न सकेको उल्लेख गरे। आफूले भोगेका समस्याकै आधारमा समाधान खोज्ने प्रयास गरेको र गफभन्दा परिणाममा विश्वास गर्ने उनको भनाइ छ।
उनले अब क्षेत्रको समग्र रूपान्तरणका लागि राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने घोषणा पनि गरेका छन्। राजनीति आफ्नो लागि कारोबार नभई माटोप्रतिको ऋण तिर्ने सेवा भएको भन्दै उनले ‘जेन–जी’ ले खोजेको परिवर्तन र आम नागरिकले चाहेको सुशासनलाई संस्थागत गर्ने लक्ष्यसहित सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए।
ठूला र अव्यावहारिक आश्वासनभन्दा जनताको दुःख–सुखमा साथ दिने इमान्दार प्रतिनिधि बन्ने प्रतिबद्धता जनाउँदै उनले सुर्खेतको विकास र सुशासनका लागि सबैसँग सहकार्यको अपिल गरेका छन्। देउती बज्यैको आशिर्वाद स्मरण गर्दै उनले जनताको विश्वास र साथका आधारमा सुर्खेतको नयाँ इतिहास लेख्ने दाबी गरे।

