वाणिज्य बैंकहरुबाट पर्यटन क्षेत्रमा सवा २ खर्ब कर्जा प्रवाह, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट गयो सबैभन्दा धेरै ऋण !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ५ महिना मंसिरसम्ममा वाणिज्य बैंकहरुबाट पर्यटन क्षेत्रमा सवा २ खर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ। जसअनुसार पाँच महिनामा २० वटा वाणिज्य बैंकले २ खर्ब २५ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिमा भने यो क्षेत्रमा बैंकहरुले २ खर्ब १४ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जुन ५.०१ प्रतिशतले बढी हो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १५ वटा बैंकको कर्जा लगानी बढेको छ भने ५ वटा बैंकको घटेको छ। पर्यटन सेवा क्षेत्रमा सर्वाधिक कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ भने वृद्धिदरका हिसाबले सिटिजन्स बैंक अगाडि रहेको छ। सबैभन्दा कम कर्जा लगानी गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। बैंकले चालु आर्थिक वर्षको मंसिरसम्म ८० करोड ३९ लाख रुपैयाँ मात्रै लगानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३५.३१ प्रतिशतले कम हो।

सर्वाधिक कर्जा प्रवाह गर्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको मंसिरसम्म २२ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा यो कर्जा ३.९३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २३ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

त्यस्तै, प्रभु बैंकले समीक्षा अवधिसम्म २२ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले २१ अर्ब २२ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यता एनआईसी एसिया बैंकको कर्जा लगानी ५४.५३ प्रतिशतले घटेर २ अर्ब ६२ करोड ८८ लाख रुपैयाँमा खुम्चिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

 

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै