एजेन्सी । तपाईं हामीले चेकमा सानो गल्ती गर्दा पनि बैंकले भुक्तानी दिंदैन । यो स्वाभाविक प्रक्रिया हो । तर भारतमा भने एउटा यस्तो घटना घटेको छ, जहाँ चेक काट्दा लेखिएको स्पेलिङ गलत भएको चेक भाइरल भएपछि त्यहाँका शिक्षकको जागिर नै गएको छ ।
भारतको सिरमौर जिल्लाको रोनहटस्थित सरकारी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक अत्तरसिंहलाई एउटा चेकमा गरिएको स्पेलिङ गल्तीका कारण सामाजिक सञ्जालमा भाइरल भएपछि प्रदेश विद्यालय शिक्षा विभागले निलम्बन गरेको छ । रु ७,६१६ को उक्त चेकमा उनले रकम शब्दमा ‘सेभेन थर्सडे सिक्स हरेंद्र सिक्स्टी’ भनेर लेखेका थिए ।
शिक्षा विभागले विद्यालयका प्राचार्यमाथि पनि कारवाहीको तयारी गरेको छ । सो चेकमा प्राचार्यको हस्ताक्षर छ ।
‘सेप्टेम्बर २५ मितिको चेकमा सबै हिज्जेहरू गलत लेखिएका छन् । यो अत्यन्तै लज्जाजनक कुरा हो । यो विषय विभिन्न राष्ट्रिय समाचार च्यानलहरू, दैनिक पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा फैलिएपछि धेरैको छवि कलंकित बनाएको छ ।’ विद्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शिक्षकले भने आफुलाई निलम्बन गरिए पनि आफु विचलित नभएको बरु गल्ती भएको बताएका छन् ।