काठमाडौँ । जेनजी आन्दोलनका क्रममा बैंकका शाखा र एटीएममा तोडफोड गर्ने केही व्यक्तिहरू पक्राउ परेका छन्। तर, अधिकांश तोडफोडमा संलग्नहरू भने अझै फरार रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले तोडफोड, आगजनी र लुटपाटमा संलग्न समूहको खोजी तीव्र पारिरहेको छ। प्रहरीले पक्राउ परेकामध्ये केहीलाई अनुसन्धानका लागि थुनामा राखेको छ भने फरारको विवरण संकलन भइरहेको जनाएको छ।
आन्दोलनका क्रममा बैंकका ६८ शाखा कार्यालय र ६९ वटा एटीएम मेसिन क्षतिग्रस्त भएका थिए। संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्रै ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको तथ्य सार्वजनिक भइसकेको छ। प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीले आफैं सरण्डर गरेका हुन् भने कतिपय भिडमा सक्रिय देखिएका आधारमा पक्राउ परेका हुन्। तर, योजनाबद्ध रूपमा बैंक तोडफोड र लुटपाटमा संलग्न मुख्य व्यक्तिहरू अझै पक्राउ परेका छैनन्।
अधिकारीहरूले सिसिटिभी फुटेज र मोबाइल ट्र्याकिङमार्फत पहिचान भइरहेको जनाउँदै छिट्टै फरारलाई पनि पक्राउ गर्ने दाबी गरेका छन्।