काठमाडौँ । सरकारले दशैँको समयमा पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएपछि बैंकरहरु निराश भएका छन्। लामो समयदेखि निरन्तर तनावपूर्ण तालिकामा काम गर्दै आएका उनीहरूलाई चाडपर्वको बेला समेत आराम पाउन नपाउने अवस्था बनेपछि उनीहरु निराश देखिएका हुन्।
ग्राहकलाई सहज सेवा दिन भन्दै दशैँमा पनि शाखा खोल्न लगाइरहे पनि केहि बैंकहरूले कर्मचारीलाई अतिरिक्त सुविधा नै नदिने गरेको गुनासो बैंकरहरुको छ ।
‘कति बैंकमा ओभरटाइम भत्ता त टाढाको कुरा, चाडपर्व भत्तामा समेत अन्याय हुने गरेको छ’ एक बैंक कर्मचारीले नाम नखुलाउने सर्तमा बैंकिङ संसार डटकमसँग भने, ‘हामीलाई अन्याय भएको छ ।’
बैंक व्यवस्थापनले यसलाई ग्राहकमैत्री कदमको रूपमा प्रस्तुत गर्ने गरे पनि कतिपय बैंकका कर्मचारीहरू भने यसलाई श्रमशोषणको रूपमा व्याख्या गर्छन् । उनीहरुले यसको अतिरिक्त भत्ता वा सुविधा पाउनुपर्ने माग गरेका छन् ।