काठमाडौँ – जेनजेजी आन्दोलनमार्फत सत्ता परिवर्तन भएपछि अब बैंक तथा वित्तीय संस्थामा राजनीतिक हस्तक्षेप गर्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा गरिएको छ । विशेषगरी भनसुन नभई बैंकमा जागिर पाइन्न भन्नेहरुमा स्थिति परिवर्तन हुने आश बढेको हो ।
अहिलेसम्म बैंक तथा वित्तीय संस्थामा सानो तहको जागिरदेखि उच्च तहका पदसम्म राजनीतिक नेताहरूको फोन, दबाब र सिफारिस निर्णायक बन्दै आएको थियो । कर्मचारी भर्ना, सरुवा, बढुवा लगायतका प्रक्रियामा नेताको नजिकको व्यक्तिलाई प्राथमिकता दिने चलन सामान्य बनेको थियो । यसले बैंकिङ प्रणालीमा पारदर्शिता कमजोर बनाएको र योग्यताभन्दा पहुँचमा आधारित संस्कृतिलाई बलियो पारेको कर्मचारीहरूको गुनासो रहँदै आएको छ।
तर जेनजेजी नेतृत्व सत्ता सञ्चालनमा आएपछि ‘योग्यता र क्षमता’ नै मुख्य मापदण्ड हुने संकेत देखिएको छ। आन्दोलनकै क्रममा युवा पुस्ताले “राजनीतिक भागबण्डा र सिफारिसको अन्त्य” भन्ने नारा उठाएका थिए। त्यसैको दबाबमा अब बैंकिङ क्षेत्रमा नेताको फोन र पहुँचभन्दा पनि योग्यताको आधारमा भर्ती तथा बढुवा हुने सम्भावना बढेको छ।
विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले पनि नयाँ परिवर्तनले आफूहरूलाई राजनीतिक दबाबमुक्त वातावरणमा काम गर्ने अवसर दिलाउने विश्वास व्यक्त गरेका छन्।
यसरी, जेनजेजी आन्दोलनले मात्र राजनीति होइन, वित्तीय क्षेत्रको कार्यशैलीमा समेत संरचनात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।