काठमाडौँ । जेनजी आन्दोलनले देशभरका वित्तीय संस्थामाथि आक्रमण बढेसँगै ग्लोबल आईएमई बैंक पनि ठूलो नोक्सानीमा परेको छ । आन्दोलनकारीहरूले आधा दर्जनभन्दा बढी एटीएम मेसिन तोडफोड गर्नुका साथै, बैंकको कान्तिपुर भवनमा आगजनी गरी विभागीय संरचनामा क्षति पुर्याएका छन् ।
यस्तै, विभिन्न सरकारी निकायहरूमा स्थापना गरिएको बैंकका राजस्व संकलन काउन्टर पनि आन्दोलनको टार्गेट बनेका छन् । बैंकका अनुसार, आन्तरिक राजस्व विभाग, यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय लगायतका काउन्टरमा तोडफोड भएको छ ।
देशभरको क्षतिको तथ्यांक संकलन भइरहेको बैंकले जनाएको छ । बैंकका अनुसार, हालसम्म चितवन र सर्वोच्च अदालत परिसरमा एक/एक, पोखरामा तीन, तुलसीपुरमा दुईसहित सात काउन्टरमा क्षति पुगेको छ ।
ग्लोबल आईएमई बैंकले भने तत्कालै वैकल्पिक सेवा सञ्चालनको तयारी गरेको र ग्राहकहरूको वित्तीय सम्पत्ति पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको छ ।