काठमाडौं । सहकारी ठगीकेसमा हाल थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रिहाइको माग गर्दै बैंक ग्यारेन्टी अदालतमा बुझाएका छन् । उनले आफ्नो भागको रकम अर्थात २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी अदालतमा बुझाएका हुन् ।
उनले बैंक ग्यारेण्टी बुझाएर बाहिर निस्किन खोजेपछि सत्ता समीकरण परिवर्तनको हल्ला पनि चल्न थालेको छ । यसअघि उनी पटक पटक बैंक ग्यारेन्टी बुझाएर नै रिहा भएका थिए भने पछि उच्च अदालतले भने जिल्ला अदालतहरुको फैसला बदर गर्दै उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।
के हो बैंक ग्यारेण्टी ?
बैंक ग्यारेण्टी भनेको एउटा आर्थिक प्रतिवद्धता हो, जसअन्तर्गत कुनै पनि व्यक्ति वा संस्थाले तेस्रो पक्षसँग गर्ने सम्झौता वा दायित्व पुरा नगरेमा बैंकले त्यसको जिम्मा लिने वाचा गर्दछ । यो एक किसिमको बैंकद्वारा दिइने वित्तीय सुरक्षा हो । अर्थात, रविको केसमा रविले नतिरे हामी तिर्छौं भनेर बैंकले अदालतलाई दिएको ग्यारेण्टी हो ।
बैंक ग्यारेण्टीमा मुख्यतया तीन पक्ष हुन्छन्:
आवेदक (Applicant): जसको लागि ग्यारेण्टी दिइन्छ (जसले काम गर्नुपर्छ)।
लाभग्राही (Beneficiary): जसलाई ग्यारेण्टी दिइन्छ (जसले सुरक्षा पाउँछ)।
बैंक (Guarantor): जसले ग्यारेण्टी प्रदान गर्छ।
यो केसमा रवि आवेदक हुन्, अदालत लाभग्राही हो भने बैंक भनेको बैंक नै भईहाल्यो ।