काठमाडौँ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र असार ३२ गतेदेखि निष्कासन हुने भएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याज भुक्तानी गरिनेछ । निष्कासन गर्न लागिएको कुल ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यो ऋणपत्रमा सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्कासन छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते बन्द हुनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।