काठमाडौँ । किशानहरुले ग्लोबल आइएमई बैंकले धान कर्जा दिने भनेर स्टन्ट मात्र गरेको तर ऋण माग्न जाँदा त्यस्तो ऋण सामान्य किशानलाई दिन नमिल्ने भनेर फर्काइ दिएको गुनासो गरेका छन् । असार १५ गते धानकर्जा भन्दै कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउने घोषणा गरिएको भए पनि किशानहरुले बैंकमा ऋण माग्न जाँदा सो खाले ऋण अहिले दिने नगरेको भन्दै फर्काईदिएको गुनासो गरेका छन् । विशेषगरी मधेश प्रदेशका किशानहरुले यस्तो ऋण बैंकले नदिएको गुनासो गरेका हुन् ।
‘बैंकले धान कर्जाका नाममा स्टन्ट गरेको रहेछ । असार सकिन लाग्यो, मसान्त पनि लागेको छ, कसरी ऋण दिनु ? भनेर फर्काइयो । अब असारमै रोप्ने धानका लागि ऋण कार्तिकमा लिएर के काम त ?’ सर्लाहीका एक किशानले भने, ‘सीइओले धान रोपेजस्तो गरेर धानकर्जाको समाचार नै बाहिर आएको थियो । तर, सब स्टन्ट रहेछ । खास चाहिने किसानलाई नदिएर बैंकले कसलाई यस्तो ऋण दिन्छ थाहा छैन ।’ उनले भने ।
बैंकका सीइओले धान दिवसकै कार्यक्रममा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको दाबी गरेका थिए। तर, मधेश प्रदेशकै विभिन्न शाखामा प्रश्न गर्दा बैंकले दिने भनेको धानकर्जाका विषयमा शाखामा जानकारी आईनसकेको जवाफ दिईएको छ ।