काठमाडौँ । नबिल बैंकका पूर्व सीइओ ज्ञानेन्द्र ढुंगानालाई एनआईसी एशिया बैंकले सीइओमा अफर गर्ने भएको छ । नबिल बैंक छोडेपछि हाल खाली रहेका ढुंगानालाई बैंकले सीइओमा अफर गर्ने भएको हो ।
ढुंगाना हाल ३ महिने कुलिङ पिरियडमा छन् । सो पिरियड सकिएपछि उनलाई सीइओ बन्न बाटो खुल्नेछ । सार्वजनिक रुपमा भन्दा ‘मैले सोचेको छैन’ भने पनि ढुंगानासमेत सो पदका लागि तयार रहेको आशय ढुंगानाले प्रकट गरिसकेको एनआईसी एशियाका संचालकहरुको दाबी छ । ढुंगानाले पनि सार्वजनिक रुपमा सोधिने एनआईसी एशियाको सीइओ बन्न लागेको हो ? भन्ने प्रश्नमा ‘कुलिङ पिरियड नै बाँकी छ’ भन्दै आएका छन् ।
हालका सीइओ रोशन कुमार न्यौपानेलाई बैंकले बिदा गर्ने तयारी यसअघि नै गरिसकेको थियो । राम्रैसँग चलिरहेको बैंकको पछिल्लो अवस्था दयनीय छ । सोहि अवस्था आएपछि यसअघि बैंकका सीइओ न्यौपानेले बैंकबाट राजिनामा दिएको कुरासमेत बाहिर आएको थियो ।
पछि, उनको राजिनामा अस्वीकृत गरिएको बताइएको थियो । नबिल बैंक हाँकेका ढुंगाना भने गभर्नर बन्ने दौडको बाहाना पारेर नबिल बैंकबाट बाहिरिएका थिए ।