काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति गरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सिफारिस समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले चैत १० गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो। प्रारम्भिक समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल सदस्य थिए।
तर, गभर्नर नियुक्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप बढेको भन्दै भट्टराईले समितिबाट राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको सदस्य पदमा अब महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको हो।
अधिकारीको प्रवेशसँगै गभर्नर चयन प्रक्रिया नयाँ मोडमा प्रवेश गर्ने राजनीतिक वृत्तको अनुमान छ। यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले सिफारिस समितिमा काँग्रेस निकट व्यक्तिलाई समावेश गराउन दबाब दिएका थिए। तर, अहिले एमाले निकट मानिने अधिकारीको समावेशसँगै गभर्नर एमालेको भागमा पर्नसक्ने अड्कल झनै बलियो बनेको छ।