काठमाडौँ । ग्लोबल आइएमई बैंकका नयाँ सिइओ खोज्न लागिएको छ । बैंकका लागि नयाँ सिइओ खोज्नेबारे छलफल भएको स्वयम् बैंकका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।
ती अधिकारीका अनुसार हालका सिइओ सुरेन्द्रराज रेग्मीका विषयमा कर्मचारीको गुनासो व्यापक आउन थालेपछी नयाँ सिइओ खोज्ने विषयमा छलफल भएको हो ।
‘सिइओका विषयमा कर्मचारीको गुनासो बढ्दो छ ।’, बैंकका ती अधिकारीले भने, ‘अझ केबलकार विवादमा बैंकविरुद्ध नै अभियान चलेपछि सिइओले हालखबर पनि सोध्नुभएन, अप्ठ्यारो अवस्थामा साथ पनि दिनुभएन भन्दै कर्मचारीहरुको गुनासो बढ्दो छ । कर्मचारीबाटै गुनासो आउन थालेपछी नयाँ सिइओ खोज्ने कि भन्ने विषयमा छलफल भएको छ ।’
बैंकका कर्मचारीहरु त्रासमा काम गरिरहेको अवस्थामा पनि सिइओले साथ दिनु त टाढाको कुरा हालखबर समेत नसोधेको कर्मचारीहरुको गुनासो छ ।
यसैबीच पछिल्लो एक हप्तामै बैंकबाट १० अर्ब रुपैयाँ झिकिएको छ । आन्दोलनरत पक्षले ग्लोबल आइएमई बैंकमा खाता बन्द गर्न र भएको पैसा झिक्न आह्वान गरेका छन् । उनीहरुले बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र सिइओ सुरेन्द्रराज रेग्मीको पुत्लासमेत जलाएका थिए ।