काठमाडौँ । प्राइम कमर्सियल बैंकको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा मंसिर १९ गते सम्पन्न भएको हो ।
उक्त सभा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । सभाले अघिल्लो आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रूपैयाँ रहेको छ । सो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब रूपैयाँ र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड रूपैयाँ पुर्याएको छ ।
बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १.७२ प्रतिशतले वृद्धि गरी कुल ७ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ ।