काठमाडौँ । एनआईसी एसिया बैङ्कको सहकार्यमा चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा राकम जम्मा गरिदिने भएको छ । आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु.५ हजार जम्मा गरिदिने भएको हो ।
यसका लागि चन्द्रागिरि नगरपालिका र एनआईसी एसिया बैङ्क लिमिटेड बीच मुद्दती खाता सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी र बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बैँकसंगको सहकार्यमा नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम ल्याएको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दती खाता खोली उक्त रकम जम्मा गरिदिने र यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको पनि नगरपालिका जनाएको छ ।
सम्झौतामा शून्य मौज्दातमा खाता खोली अधिकतम ब्याजदर उपलब्ध गरिने र बालबालिका १८ वर्ष बुझेपश्चात् उनीहरूको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको नगर प्रमुख गिरीले बताएका छन् ।