काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका मार्केटिङ विभाग प्रमुख अच्युत गौतमले रियल काम गर्ने व्यक्तिहरू बैंकसम्म नआएको र कर्जा माग्नेहरुले रियल काम नगरेको हुँदा स-साना ऋणीहरुले लोन नपाएको जस्तो देखिएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गौतमले यस्तो बताएका हुन् ।
अहिले बजारमा स-साना व्यवसायीहरूलाई बैंकले कर्जा नदिएको भन्ने हल्ला सुनिएको भन्दै गौतमले स-साना व्यावसायीहरूले प्रोपोजल प्रोजेक्ट सही किसिमले प्रस्तुत नगर्दा उनीहरूको प्रोजेक्ट एकातिर हुने र काम अर्कोतिर हुने भएकाले स-साना व्यवसायीहरूलाई बैंकले ऋण नदिएको जस्तो देखिएको बताएका छन् ।
बैंकिङ क्षेत्रमा पनि अन्य प्राइभेट संस्था जस्तै नाफा कमाउनुपर्ने केही हदसम्मको बाध्यता हुन्छ । तर, भनिए जस्तै बैंकिङ क्षेत्रले ठूला ऋणीहरू, ठूला कर्पोरेट हाउसलाई मात्र कर्जा दिने तर सानो व्यवसायीहरूले लोन पाइरहेको अवस्था छैन भनेर बजारले केही हदसम्म आरोप लाउने गरेको पनि सत्य भएको बताउँदै स-साना ऋणीहरूलाई कर्जा नदिने भन्ने कुरामा भने सत्यता नभएको गौतमको भनाई छ ।
गौतमले भने- ‘वास्तवमा प्रपोजल सही लिएर बैंकसम्म आए भने स-साना व्यवसायीहरूलाई र स-साना उद्योगहरूलाई पनि बैंकिङ क्षेत्रले लोन दिन्छन् तर मागेर मात्र हुँदैन । किनकी उनीहरूले के काम गर्ने हो प्रष्ट रुपमा उनीहरूको प्रपोजलसहित बैंकमा आउनुपर्यो । त्यसपछि बैंकबाट अवश्य कर्जा पाइन्छ ।’