वित्तीय क्षेत्रका युवा कर्मचारीको नेतृत्व तथा क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौँ।  वित्तीय क्षेत्रका युवा कर्मचारीको नेतृत्व तथा क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। नेपाल वित्तीय संस्था कर्मचारी संघ (FIEUN), राष्ट्रिय समितिको आयोजनामा बैंक, बीमा तथा अन्य वित्तीय संस्थाहरूमा कार्यरत युवा कर्मचारीहरूको सहभागितामा ‘Empowerment Course for Finance Sector Youth Union Members’ कार्यक्रम आज काठमाडौँ स्थित होटल तपस, बत्तीसपुतलीमा सम्पन्न भएको हो ।

वित्तीय क्षेत्रमा कार्यरत युवा कर्मचारीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, ट्रेड युनियन सम्बन्धी ज्ञान तथा श्रमिक अधिकारप्रतिको जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न बैंक, बीमा तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन सत्र FIEUN, राष्ट्रिय समितिका का.वा. अध्यक्ष परशुराम खनालको सभापतित्व तथा NTUC का अध्यक्ष योगेन्द्र कुमार कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

UNI Asia & Pacific sf Program & Organizing Coordinator तिलकजङ्ग खड्का विशेष अतिथि तथा NTUC युवा समितिका अध्यक्ष दिपेन्द्र सुनार अतिथिको रुपमा उद्घाटन सत्रमा सहभागी भए । कार्यक्रमको उद्घाटन सत्रमा वित्तीय क्षेत्रका युवा कर्मचारीहरूको भूमिका, नेतृत्व विकास, कार्यस्थलमा देखिएका समसामयिक चुनौती तथा श्रमिक अधिकारको संरक्षणमा युवा पुस्ताको योगदान लगायतका विषयमा विचार तथा धारणा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुलाई FIEUN, युवा समितिका सचिव झंकर रावलले स्वागत मन्तव्य प्रस्तुत गरे । कार्यक्रम अन्तर्गत निर्धारित तालिका अनुसार विभिन्न विषयमा विज्ञ तथा स्रोत व्यक्तिहरू तिलकजङ्ग खड्का, स्मिता राणा तथा अधिवक्ता प्रमिस खनालद्वारा प्रशिक्षण तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए । सत्रहरूमा युवा नेतृत्व विकास, प्रभावकारी सञ्चार तथा प्रेरणा, ट्रेड युनियन तथा श्रमिक अधिकार, कार्यस्थलका कानुनी विषय, व्यावसायिक विकास तथा वित्तीय क्षेत्रमा युवाले निर्वाह गर्नुपर्ने भूमिका लगायतका समसामयिक विषयमा सहभागीहरूलाई जानकारी तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

कार्यक्रमका विभिन्न सत्रहरूमा स्रोत व्यक्तिहरूले बदलिँदो वित्तीय क्षेत्र, प्रविधिको तीव्र विकास तथा कार्यस्थलमा उत्पन्न भइरहेका नयाँ चुनौतीहरूको सामना गर्न युवा कर्मचारीहरू निरन्तर सिकाइ, नेतृत्व क्षमता, सञ्चार सीप र अधिकारप्रतिको सचेतना सहित अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरी, वित्तीय क्षेत्रमा मर्यादित काम, सुरक्षित तथा सम्मानजनक कार्यस्थल, सामूहिक सौदाबाजी, ट्रेड युनियन अधिकार र सामाजिक संवादलाई प्रभावकारी बनाउन युवा कर्मचारीहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा समेत जोड दिइएको थियो ।

कार्यक्रमले वित्तीय क्षेत्रमा कार्यरत युवा कर्मचारीहरूलाई सक्षम, जिम्मेवार तथा नेतृत्वदायी भूमिकाका लागि तयार गर्नुका साथै आगामी दिनमा ट्रेड युनियन आन्दोलनमा युवाको अर्थपूर्ण सहभागिता बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूको पेशागत तथा ट्रेड युनियन अधिकारको संरक्षण, मर्यादित काम, सामाजिक सुरक्षा, लैङ्गिक समानता तथा सुरक्षित र सम्मानजनक कार्यस्थल निर्माणका लागि विभिन्न क्षमता विकास तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्