‘निजी क्षेत्रका व्यक्ति राष्ट्र बैंकको नेतृत्वमा आउँदा स्वार्थको द्वन्द्व बढ्यो, समाधान कानुनी रूप मै खोज्नुपर्छ’-सांसद तामाङ

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले राष्ट्र बैंकका उच्चअधिकारी सेवा निवृत्तपछि निजी बैंकमा जाने र निजी बैंकबाट पुन: राष्ट्र बैंकको नेतृत्व तहमा आउने प्रवृत्ति बढेको बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उहाँले यस्तो प्रवृत्तिले स्वार्थको द्वन्द्व ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सिर्जना गरेको प्रश्न उठेको बताएका  हुन् ।

राष्ट्र बैंक ऐन संशोधन गर्दा यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने उनको जोड छ । उन ले राष्ट्र बैंकका कर्मचारीहरूकै संलग्नतामा कतिपय बैंक स्थापना भएको भन्ने चर्चा पनि बजारमा रहेको उल्लेख गर्दै यस्ता विषयको समाधान कानुनी रूपमै खोज्नुपर्ने बताए ।

उनले भने, ‘यहाँ धेरैजसो के देखिन्छ भन्दाखेरि राष्ट्र बैंकको विशेष श्रेणीका अधिकृतहरू रिटायर्ड भएपछि प्राइभेट बैंकमा जाने, अनि प्राइभेट फेरि राष्ट्र बैंकको गभर्निङ बडीमा आउन खोज्ने । यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट कतै आयो कि ? मैले कुनै खराब इन्टेन्सनले भनेको होइन, खाली अब बाहिर बजारमा यो कुरा चल्छ । त्यसो भएको हुनाले राष्ट्र बैंकको ऐन अहिले संशोधन भईरहेको छ, यो कुरालाई हामीले कसरी हल गर्नसक्छौं ? कतिसम्म भन्दा बैंक खोल्दासम्म पनि राष्ट्र बैंकका कर्मचारीहरू मिलेर खोले भन्ने पनि छ, बजारमा । यो आक्षेप होइन, यसलाई यो अर्थमा नबुझ्नुहोला तर अहिले राष्ट्र बैंकको ऐन संशोधन गर्दा हामीले ध्यान पुर्याउनुपर्छ, यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुराहरू छन् कि ? छन् भने के-के हुन् ? त्यसलाई हामीले कसरी हेर्ने भन्ने कुरामा बढी ध्यान दिन आवश्यक छ ।’

उनले राष्ट्र बैंकले हालै सार्वजनिक मौद्रिक नीति पनि अपेक्षाअनुसार नआएको बताए । मौद्रिक नीति निर्माण प्रक्रियालाई थप स्वायत्त बनाउनुपर्ने उनले आवश्यकता औँल्याए  । राष्ट्र बैंकको संस्थागत स्वायत्ततासँगै मौद्रिक नीति पनि छुट्टै समितिमार्फत तयार गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्