वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति २४.९८ प्रतिशतले बढ्यो

काठमाडौँ। वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमास (साउन-पुस) सम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति २४.९८ प्रतिशतले बढेको हो।

यस अवधिमा वाणिज्य बैंकमा ४३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुमा ३४ अर्ब ८६ करोड ५६ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा २४.९८ प्रतिशतले गैरबैंकिङ सम्पत्ति थपिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने गैरबैंकिङ सम्पत्ति नरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

वाणिज्य बैंकहरुमध्ये ४ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १५ वटाको बढेको छ। वाणिज्य बैंकहरुमध्ये प्राइम र नेपाल एसबीआई बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरैले बढेको छ।

यता कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन्। सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको देखिएको छ।  बैंकमा ६ अर्ब १३ करोड १ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ।

यता ग्लोबल आइएमई बैंकमा ५ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ र प्राइममा ४ अर्ब ४१ करोड ५१ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्ष तुलनामा यस्तो सम्पत्ति दुवै बैंकमा क्रमश: ७.७० प्रतिशत र ११८.११ प्रतिशतले बढेको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै