HIMALAYAN LIFE
Banking Sansar Mobile App

गरिमा बिकास बैंकका सीइओको शिक्षकबाट बैंकरसम्मको यात्रा : ‘१५ बर्ष पढाएपछि बल्ल बैंकमा जागिर सुरु गरें’

मेरो घर स्याङ्जा जिल्लाको वालिङ नगरपालिका हो। मैले एसएलसी र इन्टरमिडियट स्याङ्जामै सकेँ। ब्याचलर पोखराको पृथ्वीनारायण क्याम्पसबाट र मास्टर्स कीर्तिपुरबाट गरेँ।

तर मेरो करियर भने अरु साथीहरू जस्तो बैंकिङबाट सुरु भएको होइन। एसएलसीको नतिजा आउन नपाउँदै मैले स्वयंसेवकको रूपमा विद्यालयमा पढाउन थालेँ। करिब १७ वर्षसम्म म शिक्षक बनेँ। त्यही विद्यालयमा हामीले ब्याचलरको कार्यक्रम सुरु गर्यौँ, म बीबीएस प्रोग्रामको चिफ भएँ। पछि वालिङ बहुमुखी क्याम्पसमा पनि केही समय अध्यापन गरेँ। त्यहाँका माझै मेरा गुरु जलेश्वर पाण्डे हुनुहुन्थ्यो—जो पछि गरिमा विकास बैंकका संस्थापक बन्नुभयो।

डेढ दशकभन्दा बढी अध्यापनमा बिताइसकेपछि अब केही फरक काम गरौँ भन्ने सोच आयो। संयोगवश, नेपाल राष्ट्र बैंकका इडी त्रिलोचन पंगेनी मेरो घर वरिपरि नै हुनुहुन्थ्यो। उहाँ नियमन विभागमा हुनुहुन्थ्यो। उहाँसँगै छलफल हुँदै जाँदा विकास बैंक खोल्ने विचार आयो। चार–पाँच वर्षको तयारीपछि २०६४ सालमा हामीले गरिमा विकास बैंक स्थापना गर्न सफल भयौँ। त्यसपछि मैले शिक्षण क्रमशः छोड्दै बैंकिङलाई आफ्नो करियर बनाएँ।

बैंकमा अधिकृत तहबाट सुरु गरेको म क्रमशः असिस्टेन्ट म्यानेजर भएँ। २०६८ सालमा बैंकलाई १० जिल्लाको कार्यक्षेत्रको लागि लाइसेन्स प्राप्त भयो। त्यसपछि केन्द्रीय कार्यालय वालिङबाट पोखरा सारियो। बैंकको व्यवसाय र दायरा दुवै बढ्दै गयो।

पछि डेपुटी जेनेरल म्यानेजरको पद खुला विज्ञापनमार्फत ल्याइयो। बाहिरबाट योग्य कोही नआएमा म पदोन्नत हुने चर्चा थियो। अन्ततः म त्यही पदमा पुगेँ। लामो समयसम्म गोविन्द प्रसाद ढकाल बैंकको नेतृत्वमा हुनुहुन्थ्यो, उहाँ सिइओ र म डेपुटी सिइओ भएर ११ वर्ष सँगै काम गर्‍यौँ। त्यस क्रममा हामी बैंकलाई काठमाडौँसम्म ल्यायौँ।

गोविन्द सरपछि बैंकको सिइओको जिम्मेवारी मैले पाएँ। अहिले झन्डै एक वर्ष भयो म गरिमा विकास बैंकको सिइओको रूपमा काम गरिरहेको।

मलाई लाग्छ—मेरो यात्रा केही फरक छ। अरु धेरैजना जस्तो विभिन्न बैंकमा काम गर्दै फेरि अर्कोमा सर्ने होइन, मैले शिक्षक जीवनबाट सिधै गरिमा बैंकमा प्रवेश गरेँ र यहीँ टेकेर अघि बढेँ। प्रायः बैंकहरू शहरमा सुरु भएर गाउँमा जान्छन्, तर हामीले भने उल्टै गाउँबाट सुरु गरेर सहरमा ल्यायौँ। यही मौलिकता हाम्रो कामको विशेषता हो।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।