मिथिला लघुवित्तको नाफा र सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार, लघुवित्तले नाफासहित अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ करोड ७५ लाख रुपैयाँको तुलनामा करिब ७७ प्रतिशतले वृद्धि हो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशतले बढेर २० करोड ९१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम १४ करोड ७४ लाख रुपैयाँ थियो। त्यस्तै, कुल सञ्चालन आम्दानी ४०.३६ प्रतिशत र सञ्चालन मुनाफा १०७.६८ प्रतिशतले बढेको छ।

२२ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ सञ्चित छ। गत वर्षको अन्त्यसम्ममा संस्थाले १ अर्ब ७७ करोड रुपैयाँ सापटी र १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गर्दै २ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफा वृद्धि सँगसँगै प्रतिशेयर आम्दानी  पनि १३ रुपैयाँ ३२ पैसा बढेर ३७ रुपैयाँ ५८ पैसा पुगेको छ। असार मसान्तसम्म लघुवित्तको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ २९ पैसा र मूल्य-आम्दानी अनुपात ४२.५५ गुणा रहेको विवरणमा उल्लेख छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्