काठमाडौँ । नबिल बैंकले २० वर्षदेखि प्रयोगमा नरहेका निष्क्रिय बैंक खाता बन्द गर्ने तयारी गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई ती खाता सक्रिय पार्न असार १५ गतेसम्मको समय दिएको छ ।
नबिल बैंकले नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्ससँग गाभिएपछि ती संस्थाहरूमा खोलिएका धेरै खाता वर्षौंदेखि निष्क्रिय रहेको जनाएको छ । यस्ता निष्क्रिय खाता सञ्चालनमा ल्याउन बैंकले खातावाल तथा कानुनी हकवालाहरुलाई सम्बन्धित शाखामा सम्पर्क गरी आवश्यक कागजातसहित आफ्नो पहिचान प्रमाणित गर्न आग्रह गरेको छ ।
यदि तोकिएको समयभित्र खाता सक्रिय गरिएन भने, ती खाता बैंकले बन्द गर्ने स्पष्ट जानकारी दिएको छ । नबिल बैंकले ग्राहकको जानकारी र सहुलियतको लागि यस सूचना सार्वजनिक गरेको हो ।