जीवन विकास लघुवित्तको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सम्पन्न, कोशी र मधेश प्रदेशले जिते उपाधि

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पहिलो पटक आयोजना गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। दुईदिने प्रतियोगितामा कोशी प्रदेश र मधेश प्रदेशका टिमहरूले विभिन्न खेलमा उपाधि जित्न सफल भएका छन्।

प्रतियोगिता शुक्रबार र शनिबार जीवन विकास पब्लिक स्कुलको परिसरमा सम्पन्न भएको हो, जहाँ कोशी, मधेश र बागमती प्रदेशका शाखा प्रमुखहरू तथा केन्द्रीय कार्यालयका विभागीय प्रमुख र कर्मचारीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

फुटबलतर्फ कोशी प्रदेश टिमले उपाधि आफ्नो पक्षमा पार्यो। फाइनलमा केन्द्रीय कार्यालयको टिमलाई ४-१ को स्पष्ट अन्तरले पराजित गर्दै कोशीले जित निकालेको हो। यसअघि कोशीले मधेशलाई ४- ० ले र केन्द्रीय कार्यालयले बागमतीलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। विजेता टिमलाई स्वतन्त्र सांसद योगेन्द्र मण्डलले ट्रफी र मेडल प्रदान गरे, भने उपविजेता टिमलाई अध्यक्ष विक्रमराज सुवेदीले सम्मान गरे।

क्रिकेटतर्फ पनि कोशी प्रदेश टिम विजयी बन्यो। फाइनलमा मधेश प्रदेशलाई पराजित गर्दै कोशीले क्रिकेट उपाधि जित्यो। पुरस्कार सञ्चालक सदस्य इन्द्रनारायण देव वैश्यले प्रदान गरे । कबड्डीतर्फ भने मधेश प्रदेश टिम विजयी बन्यो। फाइनलमा कोशीलाई हराउँदै मधेशले उपाधि जित्यो। विजेता टिमलाई सञ्चालक प्रकाशकुमार श्रेष्ठ र श्यामचन्द्र खतिवडाले सम्मान गरे भने उपविजेता टिमलाई सञ्चालक गोकर्ण खतिवडाले पुरस्कार प्रदान गरे।

म्युजिकल चेयर प्रतियोगितामा अमरदह शाखाकी प्रमुख मनिषा भण्डारी प्रथम भइन् । चम्मा दौडमा गिरिराज भण्डारी प्रथम, अनिलकुमार साह दोस्रो, प्रमोद शर्मा तेस्रो भए। सियो धागो दौडमा दिवाकर राजवंशी विजेता बने। विजयी प्रतिभाहरूलाई सञ्चालक अशोक सिटौला र डा.बन्दना जैनले पुरस्कार प्रदान गरे।

संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलका अनुसार यो प्रतियोगिता कर्मचारीबीच आत्मीयता र समन्वयलाई बलियो बनाउने उद्देश्यले आयोजना गरिएको हो। ‘स्पोर्ट्स मिटले कर्मचारीको मनोबल बढाउनुका साथै संस्थागत लक्ष्य हासिल गर्न थप ऊर्जा प्रदान गर्ने विश्वास लिएको छौं,’ मण्डलले बताए । हाल जीवन विकास लघुवित्तले देशभर ३१ जिल्लामा १६० शाखामार्फत घरदैलोमा वित्तीय सेवा प्रदान गरिरहेको छ। यो प्रकारको आयोजनाले संस्थागत संस्कृतिमा नयाँ अभ्यास थपेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्