काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बैंकहरुले खराब कर्जा अनुपात लुकाउँदा समस्या उत्पन्न भएको बताएका छन्। उनले एक कार्यक्रममा बोल्दै बैंकवित्तले खराब कर्जा अनुपात (एनपीएल) लुकाउँदा झन् समस्या उत्पन्न हुने हुँदा यस्तो गर्न नहुने बताएका हुन्।
उनले पछिल्लो समय नेपालमा खराब कर्जा अनुपात बढ्दै गएको जनाएका छन् । उनले अहिले खराब कर्जाको अनुपात १५,२० प्रतिशत माथि पुगेपनि बैंकहरुले लुकाउँदा झन् समस्या उत्पन्न हुन सक्ने उल्लेख गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘८, १० वर्ष यता भारतमा दुई पटक एनपीएल १४ प्रतिशत माथि पुगेको थियो । बैंकवित्तले भन्न हिचकिच्याएनन् । कार्पेट मुनि एनपिएलको तथ्य लुकाएनन् । ४,५ प्रतिशत भनेर ढाटेनन् । जनतालाई भने । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी सरकार परिचालित भयो, अर्थमन्त्री परिचालित भए । आरबीआइ परिचालित भयो । सम्बन्धित बोर्ड, कर्मचारी परिचालित भए । १,२ वर्षभित्र १४ प्रतिशत भएको निष्कृय कर्जा अनुपात ४,५ प्रतिशत तल झारे । यो एक किसिमको रोग जस्तै हौ । लुकाउने होइन् । त्यसलाई भन्नुपर्छ ।’
उनले नेपालमा पनि अहिले खराब कर्जा बढ्दो रहेको भन्दै यथार्थता देखाउँदा समयमै समाधान हुने बताएका छन् ।