PRABHU BANK

ग्लोबल आइएमई बैंकले आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने भएको हो ।

बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ । साथै, ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले निमाण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा समेत रहनेछ ।

उक्त समझदारी पत्रमा बैंककोतर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सकातर्फबाट संचालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका हुन् ।

बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ । इको-फ्रेन्डली घर-भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ ।

त्यस्तै, वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै