काठमाडौँ । ग्यालेक्सी टेलिभिजनविरुद्ध रकम फिर्ताको माग गर्दै हिमालयन बैंक अदालत पुगेको छ । आफूले प्रायोजन गरेको ‘को बन्छ करोडपति’ नामक कार्यक्रम प्रसारण नगरी पेस्कीबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै हिमालयन बैंकले गोर्खा मिडिया प्रालि (ग्यालेक्सी फोर के टीभी) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
कार्यक्रम ‘को बन्छ करोडपति’ को दोस्रो सिजनको प्रायोजन गरेको तत्कालीन सिभिल बैंक अहिले हिमालयन बैंक बनेको छ । उक्त्त हिमालयन बैंकले कार्यक्रम उत्पादन र प्रसारणका लागि आफूले पेश्की रकम भुक्तानी गरेको तर ग्यालेक्सी टेलिभिजनले कार्यक्रम उत्पादन नगरेको भन्दै सम्झौता बमोजिम रकम फिर्ता दिलाउन माग गरेको हो ।
बैंकले गत वैशाख ४ गते गोर्खा मिडिया नेटवर्क प्रालि र उक्त कम्पनीको सञ्चालक समितिलाई विपक्षी बनाई ०८०-सीपी-७८७२ को ‘करार बमोजिम रकम दिलाइ भरपाई पाउँ’ भन्दै मुद्दा दायर गरेको छ ।
अदालतमा दायर फिरादपत्र अनुसार ‘को बन्छ करोडपति’ कार्यक्रमको मुख्य प्रायोजक सिभिल बैंक रहने र त्यसबापत बैंकले १ करोड २४ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्ने सम्झौता भयो । सम्झौतापत्रमा ५२ अङ्कमा प्रसारण हुने कार्यक्रमका लागि सुरुमै बैंकले आधा रकम भुक्तानी गर्ने र त्यसबापत सिभिल बैंक स्वर्ण प्रायोजक बन्ने सम्झौता भएको थियो । १२ भाग प्रसारण भएपछि थप २५ प्रतिशत रकम पाउने र ४४ भाग प्रसारण हुने बेलामा सबै रकम भुक्तानी गर्ने सम्झौता भएको बैंकको भनाइ छ ।
फिरादपत्र अनुसार, गोर्खा मिडिया प्रालिले शुरुमै ६२ लाख १५ हजार रुपैयाँ भुक्तानी पाइसकेको थियो । उनीहरूबीच वैशाख २०७९ देखि कार्यक्रम शुरु गर्ने भद्र सहमति समेत भएको थियो तर कार्यक्रम प्रसारण हुनुको सट्टा उल्टै टेलिभिजननै बन्द भएपछि बैंक अदालत पुगेको हो ।