काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकले पछ्याएको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन राष्ट्र बैंक सदा समर्पित रहने बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै गभर्नर अधिकारीले मुलुकले पछ्याएको आर्थिक विकासका लक्ष्य प्राप्तिमा राष्ट्र बैंक सधैँ समर्पित रहने बताएका हुन् ।
गभर्नर अधिकारीले शुभकामना सन्देशमा भनेका छन्, ‘राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको सुखद अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्व मार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सरलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
२०१३ साल वैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंकले आज वैशाख १४ गते शुक्रबार आफ्नो ६९ औं वार्षिकोत्सव बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा मनाउँदै छ ।
बैंकका प्रादेशिक कार्यालयहरूले पनि विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव मनाउँदै छन् ।

								
								
								
								
								
								
			
