गरिमा विकास बैंकका कर्मचारीमाथि ‘ओभरटाइम’ को दबाब, साँझ ७:३० देखि राति ८:३० बजेसम्म काममा लगाएको गुनासो !

काठमाडौँ। गरिमा विकास बैंकमा कार्यरत कर्मचारीहरूलाई नियमित कार्यसमयभन्दा लामो समयसम्म काममा खटाइएको भन्दै बैंकिङ संसार डटकममा गुनासो आएको छ। एक पीडित कर्मचारीले बैंक व्यवस्थापनले कर्मचारीहरूलाई नियमित कार्यालय समय सकिएपछि पनि लामो समयसम्म काममा लगाउने गरेको भन्दै गुनासो गरेका हुन्।

कर्मचारीहरूलाई साँझ करिब ७:३० बजेदेखि राति ८:३० बजेसम्म समेत अतिरिक्त समय काममा खटाउने गरिएको सो व्यक्तिले गुनासो गरेका छन्।

लामो समयसम्म काम गर्नुपर्ने अवस्थाले कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर परेको र पारिवारिक तथा व्यक्तिगत जीवनसमेत प्रभावित भएको गुनासो उनले गरेका छन्।

गुनासोकर्ताले यस्तो कार्य नेपालको प्रचलित श्रम कानुन तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित नियम तथा निर्देशनसँग मेल खान्छ कि खाँदैन भन्ने विषयमा सम्बन्धित निकायबाट सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्। यस विषयमा सम्बन्धित श्रम निकाय तथा नियामक निकायले आवश्यक अनुसन्धान गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने मागसमेत उनको छ।

गुनासो पठाउने व्यक्तिले स्रोतको सुरक्षा र गोपनीयताका लागि आफ्नो व्यक्तिगत पहिचान सार्वजनिक नगर्न आग्रह गरेका छन्। तपाईंहरू पनि आफ्नो गुनासो बैंकिङ संसार डटकममा गर्न सक्नुहुनेछ। 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्